Home » News

स्वास्थ्य पत्रकारिताको विकासले स्वस्थ्य समाज

«back»

31 March, 2019 -

धुलिखेल — मुलुकमा स्वास्थ्य पत्रकारिताको विकास भए मात्र स्वस्थ्य समाज निर्माण हुने औँल्याउदै स्वास्थ्य विटमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्घिमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा हेल्थ बिटमा कार्यरत पत्रकारहरुको साझा संस्था ‘सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपाल’ ले स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्घिका लागि धुलिखेलमा आयोजना गरेको तालिमका अवसरमा स्वास्थ्य पत्रकारको क्षमता बढाउन राज्य, सञ्चारगृह र स्वयं पत्रकारहरुले लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।


काठमाडौं विश्वविद्यालयका डीन एवं धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा। राजेन्द्र कोजूले स्वास्थ्य समाचार एकदमै संवेदनशिल हुने भएकाले स्वास्थ्य पत्रकार विषय वस्तुमा पोख्त हुनुपर्ने बताए । उनले मुलुकमा स्वास्थ्य पत्रकारिताको पढाइ हुनुपर्ने समेत बताए ।

सरकारले अस्पताल र अस्पतालका बेड थप्दैमा स्वस्थ समाज निर्माण गर्न नसकिने दाबी गर्दै स्वास्थ्य अधिकारकर्मी एवं प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ९ रेस्पेक ० का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्न जनचेतना जगाउन स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुपर्ने बताए ।

सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपालका अध्यक्ष अतुल मिश्रले सत्य, तथ्य र सन्तुलित स्वास्थ्य पत्रकारिताले स्वस्थ्य समाज निर्माणमा अहं भूमिका खेल्ने भएकाले स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुपर्ने र यसमा राज्य लगायतका सम्वद्घ सबै पक्षले चासो राख्नु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य पत्रकारहरु दीपक दाहाल, पूर्णभक्त दुवाल, भगवती तिमिल्सिना, कमला गुरुङ, रिता तिमिल्सिना र हेल्थ केयर जर्नलिष्ट सोसाइटिका महासचिव पदमराज जोशी लगायतले स्वास्थ्यका समाचारले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्नेमा जोड दिएका थिए । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको सहकार्यमा सम्पन्न दुई दिने तालिममा २० जना स्वास्थ्य पत्रकारको सहभागिता थियो ।